राहाबको विश्वास र नयाँ पहिचान
इस्राएलीहरूले यर्दन नदी तरिसकेपछि कनान देश कब्जा गर्नको लागि जित्नुपर्ने पहिलो शहर यरिकोको शहर नै थियो। त्यो अति मजबुत पर्खालले चारैतिर घेरिएको, सजिलै कसैले पनि परास्त गर्न नसक्ने शहर थियो। यदि यो शहरलाई परास्त नगर्ने हो भने इस्राएलीहरू कनान देशमा कदापि पस्न सक्ने थिएनन्। यसैले यो देशको वस्तुस्थिति बुझ्न यहोशूले यर्दनवारीबाट दुईजना जासुसहरूलाई पठाएका थिए। सो क्रममा ती दुई जासुसहरू यिनै राहाबको घरमा बास बसेका थिए।
१. राहाबको घर
क) राहाबको घर यरिकोको शहरको पर्खालमा अवस्थित थियो। यहोशू २:१५ मा “तिनको घर शहरको पर्खालमा थियो, र त्यस पर्खालमा तिनी बस्दथिन्” भनेर लेखिएको छ।
२. राहाबको जीवन
राहाबको नामको अघि एक शब्द जोडिएर आएको छ, त्यो शब्द तिनको कर्मसँग जोडिएको छ, त्यो हो ‘वेश्या’। तिनी नैतिक हिसाबले एक पतित महिला थिइन्। सायद तिनले आफ्नो शरीर बेचेर जिविकोपार्जन गर्थिन्। नैतिक र सामाजिक हिसाबले तिनी एक पतित र भ्रष्ट स्त्री थिइन्। तिनलाई हेर्ने मानिसहरूको नजर बेग्लै किसिमको थियो। तिनी एक कनानी, मूर्तिपूजक स्त्री थिइन्। तिनको त्यो पेशाले गर्दा पनि तिनी समाजमा शिर ठाडो गरेर हिँड्न सक्ने अवस्था तिनको थिएन। मानिसहरूले तिनलाई घृणाको दृष्टिले हेर्थे।
३. राहाबले जासुसहरूलाई परमेश्वरको सम्बन्धमा दिएको अभिव्यक्ति
८ पदअनुसार सुत्नुअघि तिनी आफूले कौसीमा लुकाइ राखेका दुई जासुसहरूकहाँ गइन् र यसो भनिन् :
(क) म जान्दछु, परमप्रभुले यो देश तपाईंहरूलाई दिनुभएको छ। (९ पद)
(ख) तपाईंहरूको भयले हामीलाई छोपेको छ। (९ पद)
(ग) देशका सबै बासिन्दाहरू तपाईंको कारणले पग्लेका छन्। (९ पद)
(घ) तपाईंहरू मिश्र देशबाट निस्केर आउँदा परमप्रभुले लाल समुद्रको पानी सुकाइदिनुभएको कुरा हामीले सुनेका छौं। (१० पद)
(ङ) एमोरीहरूका दुवै राजा सीहोन र ओगलाई नाश गर्नुभएको कुरा हामीले सुनेका छौं। (१० पद)
(च) यी कुराहरू सुन्ने बित्तिकै हाम्रो मन लल्याकलुलुक भयो। (११ पद)
(छ) तपाईंहरूको कारणले कुनै मानिसमा केही हिम्मत रहेन। (११ पद)
(ज) परमप्रभु तपाईंहरूका परमेश्वर माथि स्वर्गमा र तल पृथ्वीमा परमेश्वर हुनुहुन्छ। (११ पद)
४. राहाबको विश्वास
तिनले परमेश्वरले इस्राएलीहरूका पक्षमा गर्नुभएको कामहरूको विषयमा सुनेकी थिइन्। सोही आधारमा तिनले इस्राएलका परमेश्वरमाथिको विश्वास जागेर आएको थियो। त्यसैले तिनी बसेका शहर नाश गर्नका निम्ति भेद लिन आउने जासुसहरूलाई तिनले लुकाएर र तिनीहरूलाई सुरक्षितपूर्वक जान दिएर परमेश्वरप्रतिको आफ्नो हृदयमा भएको विश्वासको प्रकटीकरण गरिन्। तिनले चाहेको भए ती जासुसहरूलाई आफ्ना मानिसहरूको हातमा सुम्पिदन सक्थिन्, तर तिनले त्यसो गरिनन्। सो काम तिनका निम्ति अति नै खतरा थियो। यदि ती जासुसहरूलाई लुकाएको कुरा साँच्चिकै ती शहरका मानिसहरूले चाल पाएका भए तिनलाई मानिसहरूले ढुङ्गाले लोहोर्याएर तत्कालै मार्ने थिए। तर परमेश्वरका खातिर तिनले यति ठूलो जोखिम मोल्ने साहस गरिन्। यसो गर्नु वास्तवमा उनी आफ्नो राष्ट्रको विरुद्धमा उभिनु थियो। तिनले आफ्नो विश्वासलाई कार्यमा परिणत गरेको हामी पाउँदछौं। परमेश्वरले त्यो शहरलाई नष्ट गर्नुहुनेछ भन्ने कुरामा विश्वास गरिन्। अनि सोहीअनुसार कदम पनि चालिन्। उनीहरू यरिकोको शहरलाई आक्रमण गर्न आउँदा आफू र आफ्नो घरानामाथि दया देखाउन ती जासुसहरूसँग अनुरोध गरिन्। र चिन्हस्वरूप आफ्नो घरको झ्यालमा सिन्दुरे रङ्गको धागो बाँधेर झुन्ड्याइ राखिन् (२१ पद)। “विश्वासैद्वारा वेश्या राहाब, जब उसले ती जासुसहरूलाई मेलको भावले ग्रहण गरी, तब उ विश्वास नगर्नेहरूसँग नष्ट भइनन् (हिब्रू ११:३१)।”
५. राहाबको उद्धार
यहोशू ६ अध्यायमा जब इस्राएलीहरूले यरिकोको पर्खाललाई लगातार ७ दिनसम्म जम्मा १३ चोटि परिक्रमा गरिसके, तब त्यो बडो मजबुत यरिकोको शहरको पर्खाल फेदैसम्म गर्लम्म ढल्यो (यहोशू ६:२०)। अनि इस्राएलीहरू त्यस शहरभित्र पसेर आक्रमण गर्न थाले, तर उनीहरूले राहाब र तिनको परिवारलाई सुरक्षित राखे। यसरी तिनको विश्वासको कारण तिनी र तिनको परिवारले उद्धार पाएको हामी यहाँ देख्दछौं। तिनले विश्वास नगरेको भए तिनी र तिनको घरानाको पनि अन्य यरिकोवासीको जस्तै हुनेथियो। वास्तवमा त्यो दिन तिनी मारिनुपर्ने थियो, तर तिनको विश्वासले तिनलाई बचायो।
६. राहाबको नयाँ पहिचान
“सल्मोनले राहाबद्वारा बोअजलाई जन्माए, बोअजले रूथद्वारा ओबेदलाई जन्माए र ओबेदले यिशैलाई जन्माए (मत्ती १:५)।” अनि यिशैले दाउदलाई जन्माए र दाउदकै वंशबाट प्रभु येशूको जन्म भयो। यसले ती एक वेश्या राहाबलाई एक नयाँ पहिचान दिलायो।
७. निष्कर्ष
राहाबको विश्वासले तिनका अतितहरूलाई परास्त गर्यो। तिनको जीवनमा ‘वेश्या’ को ट्याग लागेको भए तापनि तिनको कर्मसहितको विश्वासको कारणले परमेश्वरले तिनलाई उद्धार गर्नुभयो। परमेश्वरको योजना र अनुग्रह अपरिवर्तनीय छ। परमेश्वरले मानिसभित्रको हृदयलाई हेर्नुहुन्छ र उद्धार गर्नुहुन्छ। परमेश्वरले राहाबको हृदयलाई हेर्नुभयो, अनि सारा यरिकोबासी नाश हुँदा तिनी र तिनको परिवारले जीवन पाए। यसर्थ विश्वासले हामीलाई नयाँ पहिचान दिँदछ र विनाशबाट जोगाउँछ।
बर्णबास श्रेष्ठ, कनान, काठमाण्डौ